संखुवासभा - मौलिक संगीत, सुमधुर स्वर र गजलको भावनात्मक प्रस्तुतिमार्फत श्रोताको मन जित्दै आएका गायक तथा संगीतकार भबिन ढुङ्गाना अब फरक र आत्मीय सांगीतिक प्रस्तुतिसहित दर्शकमाझ आउने भएका छन्। उनको विशेष सांगीतिक कार्यक्रम ‘भबिन ढुङ्गाना लाइभ’ आगामी नोभेम्बर २८ अर्थात् मंसिर १२ गते काठमाडौँको जमलस्थित सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) मा आयोजना हुने भएको छ।
सेभेन वन्डर्स म्युजिक एन्ड इन्टरटेनमेन्ट प्रालिको आयोजनामा हुन लागेको उक्त कार्यक्रमलाई अनप्लग्ड शैलीमा प्रस्तुत गरिने आयोजकले जनाएका छन् । कार्यक्रममा ढुङ्गानाले आफ्ना मौलिक सिर्जना, लोकप्रिय गीत तथा गजलहरूलाई एकोस्टिक संगीतको मिठासमा पस्किनेछन्।
पूर्वीय शास्त्रीय तथा उपशास्त्रीय संगीतमा प्रशिक्षित ढुङ्गानाको प्रस्तुतिमा शास्त्रीय, आधुनिक र फ्युजन संगीतको सुन्दर संयोजन सुन्न पाइने ढुंगानाले बताए । सांगीतिक तामझामभन्दा पनि स्वर, शब्द, संगीत र भावनालाई प्राथमिकता दिइने यस कार्यक्रमले दर्शकलाई संगीतसँग नजिकबाट जोड्ने अपेक्षा गरेको उनले बतारा ।
करिब १०० दर्शकका लागि मात्र आयोजना गरिने यस विशेष साँझमा तबला, पर्कसन, गिटार, किबोर्ड र बाँसुरीका वाद्यवादकले ढुङ्गानालाई प्रत्यक्ष साथ दिनेछन्, उनले भने सीमित दर्शक र प्रत्यक्ष सांगीतिक प्रस्तुतिको संयोजनले कार्यक्रमलाई अझ आत्मीय, अन्तरंग र स्मरणीय बनाउने विश्वास गरिएको छ !
‘द भ्वाइस अफ नेपाल’का पूर्व गायन सल्लाहकारसमेत रहेका ढुङ्गाना संखुवासभा खाँदबारीका हुन् । प्रस्तुतिमार्फत दर्शक र संगीतबीच प्रत्यक्ष भावनात्मक सम्बन्ध स्थापित गर्ने लक्ष्य राखे आयोजकको भनाई छ ।
नेपाली सांगीतिक क्षेत्रमा मौलिकता र सांगीतिक विविधतालाई आत्मसात् गर्दै आएका ढुङ्गानाको यो प्रस्तुति नियमित कन्सर्टभन्दा केही फरक रहने छ । शास्त्रीय संगीतको गहिराइ, आधुनिक गीतको मिठास र गजलको भावनात्मक पक्षलाई एकै मञ्चमा अनुभव गर्न चाहने संगीतप्रेमीका लागि ‘भबिन ढुङ्गाना लाइभ’ विशेष अवसर बन्ने आयोजकको दाबी छ ।










प्रतिक्रिया थप्नुहोस्