खाँदबारीका ५० विपन्न परिवारलाई खाद्यान्न वितरण गरिने

संखुवासभा - नेपालीहरूको महान् पर्व बडादशैं नजिकिँदै गर्दा संखुवासभाको खाँदबारीमा विपन्न परिवारको मुहारमा खुसी ल्याउने उद्देश्यसहित युवाहरूले ‘खुसी बाँडौं’ अभियान सञ्चालन गरेका छन् । दशैंको अवसरमा आर्थिक अभावका कारण चाडपर्व मनाउन कठिनाइ भोगिरहेका परिवारलाई सहयोग पुर्‍याउने लक्ष्यका साथ अभियान सुरु गरिएको हो ।

खाँदबारी नगर क्षेत्रभित्र रहेका ५० जना गरिब तथा विपन्न परिवारलाई खाद्यान्न वितरण गर्ने अभियानको लक्ष्य रहेको आयोजकले जनाएको छ । दाताहरूको सहयोगमा सञ्चालन हुन लागेको अभियानअन्तर्गत छनोटमा परेका प्रत्येक परिवारलाई एक बोरा चामलसहित नुन, तेल, चिनी लगायतका अत्यावश्यक खाद्यान्न सामग्री वितरण गरिनेछ । चाडपर्वका बेला दैनिक उपभोग्य सामग्रीको अभाव झेलिरहेका परिवारलाई केही राहत मिलोस् र उनीहरूले पनि सम्मानपूर्वक दशैं मनाउन सकून् भन्ने उद्देश्यले अभियान अघि बढाइएको हो ।

अभियानबारे जानकारी दिन युवाहरूले आइतबार खाँदबारीमा पत्रकार सम्मेलन आयोजना गरेका थिए । पत्रकार सम्मेलनमा अभियानका संयोजक प्रभात किरण बुढाथोकीले वास्तविक गरिब तथा विपन्न परिवारको पहिचान गरेर मात्रै खाद्यान्न वितरण गरिने बताए । उनका अनुसार सहयोग आवश्यक भएका परिवारसम्म राहत पुर्‍याउनु अभियानको मुख्य प्राथमिकता हुनेछ ।

अभियानका क्रममा सरकार तथा स्थानीय तहबाट भत्ता नलिएका गरिब परिवारलाई खाद्यान्न वितरणमा प्राथमिकता दिइने छ, उनले भने आर्थिक अवस्था कमजोर भएका तर विभिन्न कारणले सरकारी सामाजिक सुरक्षा भत्ताको सुविधा नलिएका परिवारलाई लक्षित गरी सहयोग पुर्‍याउने योजना बनाइएको हो ।

दशैंका बेला नयाँ लुगा, मिठो खानेकुरा र पारिवारिक जमघट धेरैका लागि खुसीको माध्यम बन्ने गर्छन्, उनले भने तर आर्थिक अभावमा रहेका कतिपय परिवारका लागि चाडपर्वको व्यवस्थापनसमेत चुनौतीपूर्ण हुने गरेको छ । यस्तै परिवारको पीडालाई केही हदसम्म कम गर्ने र चाडपर्वमा सबैले खुसी साटासाट गर्न पाउने वातावरण निर्माण गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको आयोजकको भनाइ छ ।

‘खुसी बाँडौं’ अभियानमा करिब एक दर्जन युवा सहभागी भएका छन् । उनीहरूले दाताहरूबाट प्राप्त सहयोगलाई खाद्यान्नका रूपमा विपन्न परिवारसम्म पुर्‍याउने योजना बनाएका छन् । युवाहरूको सक्रियता र दाताहरूको सहयोगलाई एकै ठाउँमा जोडेर समुदायमा मानवीय सहयोग र सामाजिक उत्तरदायित्वको भावना अभिवृद्धि गर्ने अभियानको उद्देश्य रहेको छ ।

 

दशैंलाई रमाइलो र उत्सवमा सीमित नराखी दुःखमा रहेका व्यक्तिसँग खुसी बाँड्ने अवसरका रूपमा विकास गर्नुपर्ने सन्देशसमेत अभियानले दिन खोजेको छ, उनले भने दाताको सहयोग र युवाहरूको सक्रियताबाट सञ्चालन हुन लागेको यस अभियानले खाँदबारीका ५० विपन्न परिवारको दशैंमा केही सहजता थप्ने अपेक्षा गरिएको छ ।

आर्थिक अवस्था कमजोर भएका परिवारको पहिचान गरी आवश्यक खाद्यान्न सामग्री वितरण गर्ने लक्ष्यसहित अघि बढेको ‘खुसी बाँडौं’ अभियानले समुदायमा सहयोगी भावना जगाउने र चाडपर्वको खुसी सबैसम्म पुर्‍याउने प्रयास गरेको उनले बताए ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

↑