संखुवासभामा विशेष स्वास्थ्य सेवा, १८१ जना बिरामीले लिए विशेषज्ञ चिकित्सकबाट सेवा

संखुवासभा - संखुवासभाको खाँदबारीमा आयोजित विशेष स्वास्थ्य सेवा कार्यक्रममा १८१ जना बिरामीले विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य सेवा लिएका छन्। जिल्ला अस्पताल संखुवासभाको आयोजनामा शुक्रबार गरिएको शिबिरमा नाक, कान तथा घाँटी, छालासम्बन्धी रोग र नसा तथा मानसिक स्वास्थ्य समस्याबाट पीडित बिरामीले विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण तथा परामर्श सेवा लिएको अस्पतालका प्रमुख डा. सन्तोष देवले बताए ।

शिविरमा नाक, कान तथा घाँटीसम्बन्धी समस्या भएका ८८ जना, छालासम्बन्धी रोगका ७२ जना र नसा तथा मानसिक रोगसम्बन्धी समस्या भएका २१ जना बिरामीले सेवा लिएको उनले बताए । विभिन्न रोगबाट पीडित बिरामीलाई आफ्नै जिल्लामा विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

विशेष स्वास्थ्य सेवा कार्यक्रममा वरिष्ठ नसा तथा मानसिक रोग विशेषज्ञ डा. रोशन पोखरेल, नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. रौनक दाहाल र छाला रोग विशेषज्ञ डा. असित घिमिरेले बिरामीको स्वास्थ्य परीक्षण तथा आवश्यक परामर्श प्रदान गरेका थिए।

डा. पोखरेल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्वसचिवसमेत हुन्। डा. दाहाल र डा. घिमिरे कोशी अस्पताल, विराटनगरमा कार्यरत विशेषज्ञ चिकित्सक हुन्। उनीहरूको सहभागिताले जिल्लाका बिरामीलाई विशेषज्ञ स्वास्थ्य सेवामा पहुँच पुर्‍याउन सहयोग पुगेको डा देवले बताए ।

विशेषगरी नसा तथा मानसिक स्वास्थ्य, छालासम्बन्धी समस्या र नाक, कान तथा घाँटीका रोगबाट प्रभावित बिरामीलाई लक्षित गरी सञ्चालन गरिएको कार्यक्रमले स्वास्थ्य परीक्षणका लागि टाढाका अस्पताल धाउनुपर्ने बाध्यता कम गर्न सहयोग पुर्‍याएको अस्पताल प्रशासनले जनाएको छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

↑