संखुवासभा - संखुवासभाको मादी नगरपालिका–३, मुलखर्कमा आइतबारबाट शुरू भएको प्रथम मझिया स्मृति आमन्त्रित महिला फुटबल प्रतियोगिताको उदघाटन खेलमै उत्कृष्ट प्रदर्शन गरेको रेवाहाङ फेयर फुटबल क्लब धरान सुनसरीले आयोजक मावादिन युवा विकास समाज मादीलाई ५–० गोलअन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ। जितसँगै धरानले प्रतियोगिताको सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ।
समाजसेवी स्वर्गीय मझिया मानबहादुर जिमीको स्मृतिमा मझिया मानबहादुर स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रतियोगिताको पहिलो क्वाटरफाइनलमा धरानले सुरुदेखि नै आक्रामक खेल प्रस्तुत गरेको थियो । उत्कृष्ट तालमेल, प्रभावकारी आक्रमण र गोल गर्ने अवसरको सदुपयोग गर्दै धरानले आयोजक टोलीमाथि एकपक्षीय जित दर्ता गर्यो।
धरानको जितमा सिक्सम याक्खाले दुई गोल गर्दै टोलीको जितमा महत्त्वपूर्ण योगदान दिइन् । त्यसैगरी आशिका कार्की, प्रजिता राई र यामकुमारी बीकेले समान एकएक गोल थप्दै टोलीको जितलाई फराकिलो बनाए । खेल अवधिभर आक्रामक रणनीतिका साथ मैदानमा उत्रिएको धरानले आयोजक टोलीलाई खेलमा फर्कने अवसर दिएन ।
व्यक्तिगत प्रदर्शनका आधारमा धरानकी प्रजिता राई खेलको प्लेयर अफ द म्याच घोषित भइन् । उनले उत्कृष्ट खेल प्रदर्शन गरेबापत नगद पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन् ।
प्रतियोगिताको उद्घाटन कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिंथेपले गरेका थिए । स्थानीय क्षेत्रमा महिला फुटबलको विकास, खेलाडीको प्रतिभा प्रस्फुटन तथा खेलकुद गतिविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले मुलखर्कलाई महिला फुटबलको आकर्षक केन्द्रका रूपमा स्थापित गर्न सहयोग पुग्ने आयोजक समितिका खेल संयोजक असिम जिमीले बताए ।
महिला फुटबलको प्रवर्द्धनसँगै स्वर्गीय मझिया मानबहादुर जिमीको योगदान र स्मृतिलाई जीवन्त राख्ने उद्देश्यसमेत प्रतियोगितासँग जोडिएको छ, उनले भने विभिन्न जिल्लाका टोलीको सहभागिताले प्रतियोगितालाई प्रतिस्पर्धात्मक बनाउने बनाएको छ ।
कार्तिक १३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टोलीले नगद तीन लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ। त्यसैगरी उपविजेता टोलीले नगद एक लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछ। प्रतियोगिताको दोस्रो दिन सोमबार दोस्रो क्वाटरफाइनल खेल हुनेछ। उक्त खेलमा पद्मा स्पोर्ट्स क्लब, ओखलढुङ्गा र बेलबारी फुटबल क्लब मोरङबीच प्रतिस्पर्धा हुनेछ।










प्रतिक्रिया थप्नुहोस्