भारी वर्षाले संखुवासभा गोल्डकप दुई दिन पछि सर्‍यो, कार्तिक १६ देखि हुने

 

संखुवासभा - निरन्तरको भारी वर्षाका कारण खेलमैदान हिलाम्मे भएपछि खाँदबारीको मानेभञ्ज्याङमा आयोजना हुने पहिलो संस्करणको संखुवासभा गोल्डकप फुटबल प्रतियोगिता निर्धारित मितिभन्दा दुई दिन पछि सरेको छ। कार्तिक १४ गतेदेखि सुरु हुने तय भएको प्रतियोगिता अब कार्तिक १६ गतेदेखि २० गते सम्म हुने आयोजक क्लबका अध्यक्ष प्रकाश घिमिरेले बताए ।

जिल्लामा फुटबलको आकर्षण बढाउने उद्देश्यसहित आयोजना हुन लागेको प्रतियोगितामा आठ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा आयोजक अरुण उपत्यका सामुदायिक विकास क्लब (एड्भान्स), सुनसरीको न्यु स्टार क्लब, सिरहाको सलहेश युवा क्लब, लोहोरुङ क्लब पाङ्मा, काठमाडौंको प्लानिङ ब्वाइज युनाइटेड, खाँदबारी युथ क्लब, झापा–११ फुटबल क्लब र सेकाहा सामुदायिक विकास क्लब सहभागी हुनेछन्।

 

प्रतियोगिताको विजेता टोलीले नगद पाँच लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता टोलीले तीन लाख रुपैयाँ पुरस्कार पाउनेछ। उत्कृष्ट गोलरक्षक, मिडफिल्डर, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्तालाई जनही सात हजार रुपैयाँ प्रदान गरिनेछ।

प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी अर्थात् ‘प्लेयर अफ द म्याच’लाई पाँच हजार रुपैयाँ प्रदान गरिनेछ। प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीले भने नगद १० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

 

खाँदबारी नगरपालिका–३ का वडाध्यक्ष तथा जिल्ला खेलकुद विकास समितिका पूर्वअध्यक्ष भरत घिमिरेका अनुसार लामो समयदेखि निरन्तर सञ्चालन हुँदै आएको प्रतियोगितालाई गोल्डकपका रूपमा विकास गरिएको हो। यसले जिल्लामा फुटबलप्रतिको आकर्षण थप बढाउनुका साथै स्थानीय खेलाडीको प्रतिभा उजागर गर्न र फुटबलको विकासमा योगदान पुर्‍याउने उनले बताए ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

↑