संखुवासभा गोल्डकप : लोहरुङ र सेकाहा सेमिफाइनलमा प्रवेश

संखुवासभा - संखुवासभाको खाँदबारीमा जारी संखुवासभा गोल्डकप फुटबल प्रतियोगितामा आयोजक जिल्लाकै दुई टोली लोहरुङ क्लब र सेकाहा सामुदायिक क्लब सेमिफाइनलमा प्रवेश गरेका छन्। मंगलबार सम्पन्न प्रतिस्पर्धात्मक खेलमा लोहरुङले सिरहाको सलहेश युवा क्लबलाई सडन डेथमा पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गर्दा सेकाहाले झापा–११ लाई सहजै हराएको छ।

 

खाँदबारीस्थित महेन्द्र माविको खेलमैदानमा भएको पहिलो खेलमा लोहरुङ क्लबले सिरहाको सलहेश युवा क्लबलाई पेनाल्टी सुटआउटको सडन डेथमा ६–५ गोलले पराजित गरेको हो। निर्धारित समयमा दुवै टोलीले २–२ गोलको बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो।

 

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा सलहेश युवा क्लबले सुरुवाती अग्रता बनाएको थियो। सिरहाका लागि सञ्जय लिम्बूले १९औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए भने दिपेश गुरुङले २२औँ मिनेटमा अर्को गोल थपे।

 

दुई गोलले पछि परेको लोहरुङले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्‍यो। खेलको दोस्रो हाफको सातौँ मिनेटमा मिलन चाम्लिङले गोल गर्दै लोहरुङलाई खेलमा फर्काए। त्यसपछि २५औँ मिनेटमा आशिष चापागाईंले गोल गर्दै खेललाई २–२ को बराबरीमा पुर्‍याए।

 

निर्धारित समयमा थप गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो। पेनाल्टीमा समेत दुवै टोलीबीच कडा प्रतिस्पर्धा भएपछि खेलको निर्णय सडन डेथबाट भएको थियो। अन्ततः लोहरुङले ६–५ गोलको जित निकाल्दै सेमिफाइनल यात्रा तय गर्‍यो।

 

मंगलबार नै सम्पन्न अर्को खेलमा संखुवासभाकै सेकाहा सामुदायिक क्लबले झापा–११ लाई २–० गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ। सेकाहाका लागि मिलन लिम्बूले खेलको ५५औँ र ६३औँ मिनेटमा लगातार दुई गोल गर्दै टोलीको जित सुनिश्चित गरे। दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गरेको सेकाहाले झापा–११ लाई गोल गर्ने अवसर नदिई महत्त्वपूर्ण जित निकालेको हो।

 

आठ टोलीको सहभागिता रहेको प्रतियोगितामा उपाधिका लागि विभिन्न जिल्लाका टोलीहरूबीच प्रतिस्पर्धा भइरहेको छ। प्रतियोगिताको विजेता टोलीले नगद पाँच लाख रुपैयाँ र उपविजेताले तीन लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

 

त्यस्तै, उत्कृष्ट गोलरक्षक, मिडफिल्डर, डिफेन्डर, फरवार्ड र सर्वाधिक गोलकर्तालाई जनही सात हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ। प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ‘प्लेयर अफ द म्याच’ घोषित गरी पाँच हजार रुपैयाँ प्रदान गरिनेछ भने प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

↑