संखुवासभामा पहिलोपटक हुन लागेको ‘संखुवासभा गोल्डकप’ को तयारी अन्तिम चरणमा पुगेको छ । कात्तिक १४ गतेदेखि हुने प्रतियोगिताको खेल तालिका समेत सार्वजनिक गरिएको छ ।
खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक अरुण उपत्यका सामुदायिक विकास क्लब (एड्भान्स) क्लबले सुनसरीको न्यु स्टार क्लबको सामना गर्नेछ । कात्तिक १५ गते दोस्रो क्वार्टर फाइनल खेलमा सलहेश युवा क्लब सिरहा र लोहोरुङ क्लब पाङ्माबीच प्रतिस्पर्धा हुनेछ ।
त्यस्तै, कात्तिक १६ गते तेस्रो क्वार्टर फाइनल खेल प्लानिङ ब्वाइज युनाइटेडविरुद्ध खाँदबारी युथ क्लबले खेल्नेछ । कात्तिक १७ गते अन्तिम क्वार्टर फाइनल खेल झापा ११ फुटबल क्लब र सेकाहा सामुदायिक विकास क्लबबीच हुनेछ ।
प्रतियोगिताअन्तर्गत पहिलो सेमिफाइनल खेल कात्तिक १८ गते, अन्तिम सेमिफाइनल खेल कात्तिक १९ गते र फाइनल खेल कात्तिक २० गते हुने प्रतियोगिताका संयोजक जिल्लामान राईले जानकारी दिए ।
त्यस्तै, खेल मैदान स्तरोन्नतिको काम धमाधम भइरहेको छ भने दर्शकका लागि खेल मैदानको बाहिरी भागमा बस्ने व्यवस्था मिलाइएको छ । खाँदबारी बजारमा स्वागतद्वारहरु राख्न थालिएको छ ।
स्थापनाकालमा जिल्लास्तरीय अरुण कपबाट फुटबल सुरु भएको प्रतियोगिता यो वर्षको संस्करणबाट समग्र जिल्लालाई प्रतिनिधित्व गर्ने उद्देश्यले ‘संखुवासभा गोल्डकप’ गर्न लागिएको खाँदबारी–३ का वडा अध्यक्ष तथा जिल्ला खेलकुद विकास समितिका पूर्वअध्यक्ष भरत घिमिरेले जानकारी दिए ।
संयोजक राईका अनुसार यसअघि २०६४ सालदेखि बर्सेनि दसैँ र तिहारको बीचमा अरुण भ्याली रनिङ शिल्डको नाममा प्रतियोगिता हुँदै आएको थियो । यो वर्ष पुरस्कार राशि पनि वृद्धि गरिएको छ । यसअघि अरुण भ्याली रनिङ शिल्डको विजेताले दुई लाख पाउँदै आएको थियो ।
खाँदबारी–३ मानेभञ्ज्याङस्थित महेन्द्र माध्यमिक विद्यालयको खेलमैदानमा हुने पहिलो संस्करणको संखुवासभा गोल्डकपको विजेताले नगद पाँच लाख रुपैयाँ र उपविजेताले तीन लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने क्लबका महासचिव वेदराज घिमिरेले जानकारी दिए ।
त्यस्तै उत्कृष्ट गोलरक्षक, मिडफिल्डर, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई जनही सात हजार रुपैयाँ प्रदान गरिनेछ । प्रत्येक खेलका प्लेयर अफ द म्याचलाई पाँच हजार रुपैयाँ पाउँदा सर्वोत्कृष्ट खेलाडीलाई १० हजार रुपैयाँ पाउनेछ ।
प्रतियोगितामा कुल ५५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको क्लबका अध्यक्ष प्रकाश घिमिरेले बताए । प्रतियोगितालाई खाँदबारी–३ को वडा कार्यालयले आठ लाख रुपैयाँ सहयोग गरेको छ ।
‘सामाजिक सद्भावका लागि युवा एकता, विकृति, विसंगतिका विरुद्ध खेलकुदद्वारा सहकार्यको प्रतिबद्धता’ भन्ने मुल नाराका साथ प्रतियोगिता हुन लागेको हो ।










प्रतिक्रिया थप्नुहोस्