भारतको उर्जा सचिवद्वारा अरुण–३ जलविद्युत आयोजनाको स्थलगत अवलोकन

संखुवासभा - भारत सरकारका ऊर्जा सचिव पंकज अग्रवालले संखुवासभाको मकालु गाँउपालिकामा निर्माणाधीन ९०० मेगावाट क्षमताको अरुण–३ जलविद्युत आयोजनाको स्थलगत निरीक्षण  गरेका छन्।

 

भारत–नेपाल ऊर्जा सहकार्यअन्तर्गत निर्माण भइरहेको उक्त आयोजना एसजेभीएन लिमिटेडको पूर्ण स्वामित्वको कम्पनी एसजेभीएन अरुण–३ पावर डेभलपमेन्ट कम्पनी ले काम गरिरहेको छ ।

 

अग्रवाल नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डलले चिचिला गाँउपालिकाको  पुखुवास्थित भूमिगत विद्युतगृह र मकालुको फाक्सिन्दास्थित बाँध क्षेत्रको निरीक्षण गरेको थियो। टोलीले सिभिल तथा इलेक्ट्रो–मेकानिकल निर्माण, बाँध संरचना, इन्टेक प्रणाली तथा अन्य पूर्वाधार निर्माणको प्रगति, कार्यान्वयन रणनीति र हालसम्मको उपलब्धिबारे जानकारी लिएको थियो।

 

निरीक्षणपछि आयोजित समीक्षामा ऊर्जा सचिव अग्रवालले चुनौतीपूर्ण हिमाली भूभागमा निर्माण भइरहेको आयोजनामा हासिल भएको प्रगतिप्रति सन्तुष्टि व्यक्त गर्दै गुणस्तर, सुरक्षा र वातावरणीय दिगोपनलाई उच्च प्राथमिकतामा राखेर निर्माण कार्यलाई निर्धारित गतिमा अघि बढाउन निर्देशन दिएका छन्।

 

भ्रमणमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, केन्द्रीय विद्युत प्राधिकरणका अध्यक्ष घनश्याम प्रसाद, भारतको ऊर्जा मन्त्रालयका अतिरिक्त सचिव दिवाकर नाथ मिश्र, सहसचिव पंकज कुमार, एसजेभीएनका निर्देशक (आयोजना) राजेश कुमार चान्देल तथा भारत सरकार, भारतीय दूतावासका वरिष्ठ अधिकारीहरूको सहभागिता थियो।

 

एसजेभीएनका निर्देशक (आयोजना) राजेश कुमार चान्देलले आयोजना टोलीलाई निर्धारित समयसीमाभित्र निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्यमा केन्द्रित रहन निर्देशन दिएका छन्।

 

एसपीडिसीकाका प्रमुख कार्यकारी अधिकृत पंकज चौधरीले आयोजनाअन्तर्गत सञ्चालनमा रहेका निर्माण प्याकेज, पुनर्स्थापना तथा पुनर्वास कार्यक्रम, सामुदायिक विकास गतिविधि र वातावरणीय व्यवस्थापनका बारेमा जानकारी गराएका थिए।

 

भारत–नेपाल ऊर्जा सहकार्यको महत्त्वपूर्ण परियोजनाका रूपमा रहेको अरुण–३ जलविद्युत आयोजना सम्पन्न भएपछि स्वच्छ ऊर्जा उत्पादन बढ्नुका साथै क्षेत्रीय ऊर्जा सुरक्षा सुदृढ हुने र दुई देशबीचको ऊर्जा साझेदारी थप मजबुत हुने चौधरीले बताए । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

↑